अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२ यही जुन २३ देखि २६ सम्म हुने भएको छ।
महोत्सव भौतिक रूपमा र भर्चुअलबाट हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा चलचित्र प्रदर्शन हुनेछ। जुनको २३ बिहीबार साँझ पुरानो ग्रीन्बेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्करा’को प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिक आइतबार साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’बाट सोही थिएटरमा हुने जनाइएको छ।
महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत् चलचित्र हेर्न सकिने आयोजकले जनाएको छ।
प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ।
महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिबलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि भर्चुअल संवाद गरिने भएको छ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रहरूलाई पुरस्कृत पनि गरिनेछ।
चलचित्र महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ। निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरूको पुरस्कार घोषणा गर्नेछन्। नेपालबाट अनुप सुबेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीको रूपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।