दुई महिलालाई विदेश पठाईदिने नाउँमा ठगी गर्ने कार्की पक्राउ

काठमाडौं । विदेश पठाईदिने नाममा दुई महिलाहरुबाट रकम उठाई ठगी गर्ने एक जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमराका ३२ वर्षीय रुपेश कार्की हुन् ।
कार्कीले ती महिलाहरुबाट रु. २१ लाख ४४ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौको अनुसार कार्कीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार र काठमाडौं पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेकाले कार्कीलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ कार्कीलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । उहाँले कार्कीबाट ठगीएका अरु व्यक्ति भए सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।