पूर्वी नवलपरासी — वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ठगी गरेको आरोप लागेका एक म्यानपावर व्यवसायी फरार भएका छन् । पीडितको उजुरीका आधारमा उनीविरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका छैनन् ।
पीडितका अनुसार कावासोती नगरपालिका १४ का मुक्ति थनेतले आयरल्यान्ड र बुल्गेरिया पठाइदिने भन्दै २० जनासँग १५ लाखका दरले रकम उठाएर बेपत्ता भएको भन्दै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन् ।
गत जेठमा कावासोतीका श्यामप्रसाद लम्सालसमेत ७ जनाले मुक्तिविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् । उजुरीका आधारमा वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीलाई गत जेठ १० गते पत्र पठाएर थनेतलाई ‘पक्राउ गर्नू’ भन्ने आदेश दिएको छ । विभागले अपराध महाशाखा बानेश्वरलाई पनि त्यसै दिन पत्र पठाएर पक्राउ गर्न भनेको छ ।
लम्सालसहित कृष्ण थापा, चेत भण्डारी, खिमानन्द पाण्डे, सन्तोष अर्याल, सोमनाथ, पतिराम थनेतले प्रहरीमा संयुक्त उजुरी दिएका थिए । मुक्तिलाई पैसा बुझाउने सबै नवलपरासीका हुन् । पीडितले मुक्तिको बैंक खातामा नगद जम्मा गरिदिएको प्रमाणसहित प्रहरी र प्रशासन कार्यालयमा उजुरी दिएको करिब ३ महिना बितिसक्दा पनि मुक्ति पक्राउ परेका छैनन् । पीडितमध्येका श्यामप्रसाद मुक्तिबाट ठगिएकाहरूलाई न्याय दिइयोस् भन्दै जहाँ पुगे पनि कतैबाट न्याय नपाइएको र आफूहरूको उजुरीको सुनुवाइ नभएको गुनासो गर्छन् ।



