स्व्: प्रदीप गिरी र उनका केहि बिचार

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको ७५ वर्षको उमेरमा शनिबार राती साढे नौं बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरुको आइतबार अन्त्योस्टीमा बाक्लो उपस्थिति रहेका थियो। नेपाली राजनीतिमा बौद्धिक नेताको पहिचान बनाउन भएका नेता गिरि घाँटीको क्यान्सरबाट पीडित थिए।

गिरिले गृह जिल्ला सिरहाबाट २०५१ र २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए। उनी २०५६ मा भने पराजित भए। संविधान सभा निर्वाचन २०६४ र २०७० मा गिरि समानुपातिकतर्फ सांसद बनेका थिए।

७५ वर्ष बाँचेका गिरिले आफ्नो राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाएका थिए। त्यसैले उनी एक हिसाबले सर्वस्वीकार्य थिए। उनीमात्र कांग्रेसका यस्ता नेता थिए, जसले कम्युनिष्टहरूलाई मार्क्स र लेनिनबारे पढाउँथे।गिरिले जे पढे र सार्वजनिक रूपमा जे बोले व्यावहारिक जीवनमा पनि त्यही लागू गर्न प्रयत्न गरे।

‘राजनीतिमा पुरै उदासीन रहनु आफ्नो भाग्यसँग खेलबाड गर्नु हो। पाँच वर्षमा एक दिन भोट हालेर अरू दिन वास्तै नगर्नु पनि ठिक होइन,’ उनले भनेका थिए, ‘जीवनमा राजनीति चाहिने रहेछ। तर त्यसैमा डुबेर साहित्य, कला र संगीत बिर्सनु अमानवीय जीवन हुँदो रहेछ।’

बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर गिरिले काम गरेका थिए। चित्त नबुझेका कुरामा उनले बिपी, गणेशमानसँग पनि फरक मत राख्ने गरेका थिए। बिपी र गणेशमानहरू निराश भएका बेला आफूले कविता सुनाउने गरेको गिरि बताउने गर्थे।

‘बिपीदेखि किसुनजीले मसँग सहानुभूति खोजेका क्षण पनि थिए। उहाँहरूलाई प्रायस् म भारतीय कवि सूर्यकान्त त्रिपाठीका कविता ‘रामकी शक्ति पूजा’ वाचन गरी सुनाउथेँ’ उनले भनेका थिए।