काठमाडौं। प्रर्दशनमा आएको एकहप्तामै निकै लोकप्रियता हासिल गरेको फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित गरिएको छ। गत शुक्रबारदेखी प्रदर्शनमा आएको यो चलचित्र हलसँग विमति राख्दै यो फिल्मको प्रदर्शन एक सातामै स्थगित गरिएको निर्माण कम्पनी सिनेमा आर्ट्सले जनाएको छ।
हलहरूले नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको एक बिज्ञप्ति मार्फत बताएको छ।
“विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ। विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,” विज्ञप्तिमा अगाडि भनिएको छ,“पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०%–५०% प्रतिशत हुन्छ। तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ। र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ।”
यस्तै विज्ञप्तिपछी निर्देशक निश्चल बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेशी फिल्म र नेपाली फिल्मलाई बराबर शेयर बाँडफाँड नहुँदासम्मका लागी नेपालमा चलचित्र ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्णय गरेको बताएका छन्। हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट फिल्म देखाउने उनको चेतावनी छ ।




