विश्वकप छनोटमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं। विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ। समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ।

यूएईसँगको खेलमा तीन नयाँ खेलाडी डिफेन्समा योगेश गुरुङ, मिडफिल्डरमा निशान हमाल र फरवार्डमा राजेश परियार सहभागी छन्। चोटकाकारण नेपालसँग भरपर्दा डिफेन्डर अनन्त तामाङ रहने छैनन्। सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ। अन्जनसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर छ।

उनले विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका थिए। यूएईविरुद्ध खेल्दै गर्दा नेपाली टिम कम्तिमा अंक जोड्ने लक्ष्यमा हुनेछ। प्रि म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताएका थिए। उनले यूएईविरुद्ध उत्कृष्ट प्रर्दशनको बाचा गरेका थिए।

समूह एचमा विजेता बन्ने दाउमा रहेको यूएई भने हाइ प्रोफाइलका प्रशिक्षक पाउलो बेन्टोको नेतृत्वमा मैदान उत्रनेछ। विश्वकपमा ४८ टिमको ढोला खुल्दा यूएई जस्ता देशले त्यसको फाइदा उठाउने सम्भावना छ। खेलअघि यूएई प्रशिक्षक पाउलो बेन्टोले नेपाललाई सहज रुपमा लिने गल्ती नगर्ने बताउँदै आफ्नो स्तर अनुसारको खेल प्रर्दशन गर्ने बताएका थिए।