राष्ट्रिय चलचित्र पुरस्कार तथा विशेष योगदान सम्मानबाट ३७ जना सम्मानित

काठमाडौँ। ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ बाट विभिन्न विधाका ३७ जना सम्मानित भएका छन् । चलचित्र विकास बोर्डको आयोजनामा मंगलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा सम्मान गरिएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० अभिनेता शिव श्रेष्ठलाई जनही रु तीन लाख ७५ हजारसहित सम्मान गरेका छन् ।

यस्तै प्रवासमा रहेर नेपाली चलचित्रको प्रवद्र्धन गर्दै चलचित्रको क्षेत्रमा विशेष योगदान गरेबापत राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८० बाट एनआरएनए युएईका निवर्तमान अध्यक्ष,बर्तमान प्रमुख संरक्षक एबं एनआरएनए आइसिसिको आगामी निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार ठाकुर प्रसाद ढुंगाना सम्मानित भएका छन् । ढुंगानालाई विशेष योगदान सम्मानबाट सम्मान गरिएको हो ।

यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाँकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत भए । यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ जनही रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।

पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिइन । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए । समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमायाँ’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ लाई जनही रु दुई लाखसहितको पुरस्कार प्रदान गरे ।

सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजङ्ग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।