आइसिसि सचिवमा कतारबाट शर्माको उमेदवारी घोषणा

काठमाडौं।गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदका लागि होमनाथ शर्माले केन्द्रीय उम्मेदवारी घोषणा गरेका छन। वर्तमान एनआरएनए आइसिसि सहकोषाध्यक्ष पदमा रहेका शर्माले आगामी कार्यकाल सचिव पदमा रहेर काम गर्ने इच्छा व्यक्त गरेका हुन् ।

विगत लामो समयदेखि एनआरएनएको अभियानमा निरन्तर सक्रिय शर्मा एनआरएनए कतारका विभिन्न तहमा रहेर योगदान दिएका छन्। उनले ​​​​एनआरएनए कतारको स्थापना देखिनै कार्यसमिति सदस्य, २ पटकसम्म सल्लाहकार पछि आइसिसि सदस्य हुँदै वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद कार्यसमितिको सह कोषाध्यक्ष पदमा आफ्नो कुशल जिम्मेवारी निर्वाह गरेका छन् ।

बाग्लुङ्गमा जन्मिएर कतारलाई कर्मथलो बनाएका शर्माले एनआरएनएको संस्थागत विकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न, गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्न पनि यस पटक आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

उनले एनआरएनएको संस्थागत सुशासन र पारदर्शीता , युवा , महिलाको सहभागिता , श्रमिकमैत्री , वंसजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका एजेण्डा तय गरेका छन् ।