अध्यक्षका प्रत्यासी श्रेष्ठले विजयी भएको पहिलो वर्षमै १० करोडको कल्याण कोष खडा गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मध्यपूर्व र एसियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका श्रेष्ठले नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसँग समन्वय गरी कम्तीमा रु १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उनले एनआरएनए राहत कोषमा पाँच लाख रुपैयाँ अनुदान दिने पनि घोषणा गरे ।

‘मध्यपूर्व साथै एसियाका देशहरुको भ्रमणका क्रममा धेरै भन्दा धेरै नेपालीहरुको श्रमसम्बन्धी समस्या रहेको पाएँ । त्यसका लागि प्रत्येक वर्ष १० करोड रुपैंयाँ संकलन हुनेगरी कोष खडा गर्ने प्रतिबद्धता जनाउँदछु । उनले भने,‘त्यस बाहेक सरकारसँग मिलेर नीति निर्माणमा प्रशस्त कामहरु गर्नुपर्नेछ । घरेलु कामदार तथा श्रमिकको समस्या, दोहोरो श्रम सम्झौता, श्रम सहचारी र श्रम स्वीकृतिका क्रममा हुने झन्झट नीतिमार्फत समाधान गर्नु पर्ने हुन्छ ।”

श्रेष्ठले भने, ‘एनआरएनए आइसीसीको काम भनेको नीति बनाउने हो र एनसीसीको काम मानवीय आपत विपतमा सहयोग गर्ने हो । दुवैको सहकार्यमा हामी प्रवासका नेपालीहरुको हक हितमा नै काम गर्छौं,’ काम गर्नका लागि नै चुनावी दौडाहामा छु । सबैको सहयोगको अपेक्षा गरेको छु ।’
साउदी अरब, दुबई, मलेसिया, बहराइन लगायतका देशको भ्रमण गरिसकेपछि उनले आफू उत्साहित भएको प्रतिक्रिया दिए । उनले दुई बर्ष भित्रमा एनआरएनएलाई एकता र सुदृढ बनाएर पद्धति बसाउने पनि प्रतिज्ञा गरे ।

आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी श्रेष्ठले आफ्ना पाँच प्रतिबद्धता जारी गरी चुनावी अभियानमा होमिएका छन् । श्रेष्ठका पाँच प्रतिबद्धताहरु यस प्रकार छन् :
१. जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ
२. समुन्नत नेपालको संकल्प
३. अबको कार्यभार : एनआरएनएको हक, हित र अधिकार
४. संरचनात्मक सुधार र संस्थागत विकास
५. प्राथमिकतामा युवा, महिला तथा दोस्रो पुस्ता

यसैबीच आउँदो अक्टोबर १७ देखि हुन लागेको संघको ११ औं महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन हुँदैछ । तीन दिने विश्व सम्मेलन तथा महाधिवेशनमा विश्वका करिव ८० देशबाट झण्डै ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।