काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११ औं महाधिवेशन तथा निर्वाचनका लागी मतदाता सुची सार्वजनिक गरिएको छ। यही अक्टोबर १७ देखि २० सम्मका लागी तय भएको निर्वाचनका लागि एनआरएनए निर्वाचन समितिले सुची सार्वजनिक गरेको हो। सार्वजनिक भएको सुचिअनुसार ४ हजार २२७ मतदाता कायम भएका छन्। निर्वाचन समितिले असोज १४ गते नै मतदाता (डेलिगेट्स)को अन्तिम सूची प्रकाशित गर्नुपर्ने भएपनि थप छानबिन गर्नुपरेको भन्दै समय लिएर मंगलबार मात्रै प्रकाशित गरेको हो।
निर्वाचन समितिले सार्वजनिक गरेको मतदाताको प्रारम्भिक सूचीमा ४ हजार १९२ जनाको नाम समावेश गरेकामा अन्तिम नामावली सार्वजनिक गर्दा केही छुटेका संख्यासमेत थपेर प्रकाशित गरिएको जनाएको छ। प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले विगतमा काठमाडौँमै भेला भएर उम्मेदवारी दिने प्रचलन रहेकोमा यसपटकको निर्वाचनमा उम्मेदवारी मनोनयन विद्युतीय माध्यमबाट नै पेश गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएका छन्। विद्युतीय माध्यमबाट मनोनयन पेश गर्नेको हकमा प्रस्तावक र समर्थकसहित अनिवार्यरुपमा उपस्थित भइ सनाखत गराउनुपर्नेछ।
भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता र सनाखतका लागि असोज २५ देखि २९ गतेसम्मको समय दिइएको छ।भौतिक उपस्थितिमा मनोनयन दर्ता गराउनेलाई संघको कार्यालय बालुवाटारमा व्यवस्था मिलाइएको छ।मनोनयन दर्तापछि असोज २९ गते उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ। सोही दिन उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोधको समय दिइएको छ भने त्यसपछि असोज ३०मा मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ।
त्यसपछि असोज ३० मै उम्मेदवारको दोस्रो नामावली प्रकाशित गरिनेछ भने सोही दिन मनोनयनपत्र फिर्ताको समय पनि दिइनेछ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदानको प्रक्रिया सुरु गरिनेछ। जसअनुसार विद्युतीय माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई नामावली उपलब्ध गराएर त्यसको भोलिपल्ट अर्थात कात्तिक १ गते डेमो निर्वाचन पनि गराइनेछ। त्यसपछि कात्तिक २ मा औपचारिक रुपमा मतदान हुनेछ। भौतिकरुपमा उपस्थित हुनेका लागि होटल सोल्टीमा आवश्यक व्यवस्था मिलाइएको संघले जनाएको छ।
मतगणना र घोषणापनि होटल सोल्टीमै हुनेछ। संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार,सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनु पर्नेछ।
यसैगरी महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००,क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ। यस्तै युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ। सबै उम्मेदवारले उम्मेदवारी दस्तुर बैंक खातामार्फत बुझाउनुपर्ने पनि प्रमुख निर्वाचन अधिकृत ढुंगानाले बताए।
निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने उनले बताए। उनकाअनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १,उपमहासचिव २, सचिव ६, महिला सचिव १,कोषाध्यक्ष १,सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन्।यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१जना गरी ६ जना,क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन्।
जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ।यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना,क्षेत्रीय युवा संयोजक ६ जना,क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ।संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६जना निर्वाचित हुने भएका हुन्।यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ।