काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उमेदवार राजेन्द्र कुमार(आरके)शर्माले एनआरएनए निर्वाचन भड्किलो भएको भन्दै विकल्प सोच्नुपर्ने बताएका छन्।
एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स)संग बार्सिलोनामा आयोजित एक अन्तक्रिया कार्यक्रममा सहभागी हुँदै शर्माले एनआरएनएको निर्वाचन र कार्यक्रमहरु तारे होटलमा नगरी रत्नपार्कमा गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न नहुनेमा जोड दिँदै शर्माले भने, ‘परदेशका श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न हुदैन भन्ने पक्षमा छु,एनआरएनएका कार्यक्रमहरु तारे होटलमा हैन रत्नपार्कमा गरौं भन्ने मेरो लाइन छ, म अध्यक्ष भएमा यस्ता भड्किला कार्यक्रमहरु हुने छैनन्, फजुल अनावश्यक खर्च रोक्ने छु।’
१७ अक्टुवरबाट एनआरएनएको ११ औं महाधिवेशन शुरु हुदैछ। एनआरएनएलाई मितव्ययी र पारदर्शी बनाउनुका साथै आवश्यक भन्दा अरु क्षेत्रमा खर्च गर्न नहुनेमा आफु सुरुदेखि भएको बताउँदै खाड़ी देखि युरोप अमेरिकाका श्रमिकहरुको हितमा काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको दोहोर्याए। महंगा होटलमा लाग्ने खर्च कटाएर सामान्य खर्चमा एनआरएनएका कार्यक्रमहरु गरी श्रमिकको हितको लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए।
शर्माले एनआरएनएलाई एकताबद्ध र सबै परदेशी नेपालीको साझा संस्था बनाउनको लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेर अघि बढेको बताए। ‘एनआरएनएको अध्यक्ष बनेर फÞोटो झुण्ड्याउन जाँदैछैन, पछिल्लो समयमा विभाजित एनआरएनएलाई एकढिक्का र सबै परदेशी नेपालीको साझा बनाउन नेतृत्वक दाबी गरेको हुँ आशा छ सबैको साथ पाउने छु।’ शर्माले भने ।