काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्वका लागी अहिलेसम्म पाँच जना आकांक्षी देखिएका छन्। अक्टोबर १७ देखि २० सम्मका लागी तय भएको आसन्न ११ औं महाधिवेशन तथा निर्वाचनका लागी अहिलेसम्म ५ जनाले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन्।
अध्यक्षका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा,उपाध्यक्षद्वय राजेन्द्रकुमार(आरके)शर्मा र महेश श्रेष्ठ,तथा उपमहासचिव विनय अधिकारीले उम्मेदवारी घोषणा गरिसकेका छन्।उम्मेदवारहरुले छुट्टाछुट्टै टिम बनाएर आफ्नो पक्षमा माहोल बनाउन अगाडी बढिरहेका छन्। उमेदवारी सार्वजनिक गर्नेहरुमा उपाध्यक्ष आरके शर्माले कर्मभूमि कतारको रेडिसन ब्ल्यूबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन भने डा.केसीले अनलाइन जुममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
यस्तै उपाध्यक्ष महेश श्रेष्ठले ललितपुरको होटल हिमालयबाट उम्मेदवारी घोषणा गर्दा रविना थापाले पनि काठमाडौँको होटल रेडिसनबाट औपचारिक समारोहमार्फत उम्मेदवारी घोषणा गरेकी हुन्। यस्तै अधिकारीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार गरिरहेका छन्। यससँगै एनआरएनएको ११ औँ विश्वसम्मेलन आउन अब दुई सातामात्रै बाँकी रहँदा चुनावी माहोल पनि तिब्र बढिरहेको छ।
एनआरएनए निर्वाचन समितिले निर्वाचनका लागि ४ हजार २२७ मतदाताको अन्तिम सुची पनि सार्वजनिक गरिसकेको छ। निर्वाचनका लागि यसपटक उम्मेदवारी मनोनयन विद्युतीय माध्यमबाट नै पेश गर्न सकिने व्यवस्था समेत गरिएको छ। विगतमा काठमाडौँमै भेला भएर उम्मेदवारी दिने प्रचलन रहेको थियो। विद्युतीय माध्यमबाट मनोनयन पेश गर्नेको हकमा प्रस्तावक र समर्थकसहित अनिवार्यरुपमा उपस्थित भइ सनाखत गराउनुपर्नेछ।
भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता र सनाखतका लागि असोज २५ देखि २९ गतेसम्मको समय दिइएको छ। भौतिक उपस्थितिमा मनोनयन दर्ता गराउनेलाई संघको कार्यालय बालुवाटारमा व्यवस्था मिलाइएको छ। मनोनयन दर्तापछि असोज २९ गते उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ। सोही दिन उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोधको समय दिइएको छ भने त्यसपछि असोज ३० मा मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ।
त्यसपछि असोज ३० मै उम्मेदवारको दोस्रो नामावली प्रकाशित गरिनेछ भने सोही दिन मनोनयनपत्र फिर्ताको समय पनि दिइनेछ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदानको प्रक्रिया सुरु गरिनेछ। जसअनुसार विद्युतीय माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई नामावली उपलब्ध गराएर त्यसको भोलिपल्ट अर्थात कात्तिक १ गते डेमो निर्वाचन पनि गराइनेछ। त्यसपछि कात्तिक २ मा औपचारिक रुपमा मतदान हुनेछ। भौतिकरुपमा उपस्थित हुनेका लागि होटल सोल्टीमा आवश्यक व्यवस्था मिलाइएको संघले जनाएको छ। मतगणना र घोषणापनि होटल सोल्टीमै हुनेछ।निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुनेछन् ।