सर्पले डसेर कपिलवस्तुमा एकै घरका दुई दिदीबहिनीको मृत्यु

काठमाडौं। कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ।गत मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो। उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो।

सर्पले डसेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।