एनआरएनएमा फेरियो रोजिना प्रधानको उम्मेदवारी, सचिव छाडेर महिला उपाध्यक्षमा दावी

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) महिला उपाध्यक्ष पदमा बेलायतबाट रोजिना राई प्रधानले उम्मेदवारी घोषणा गरेकी छन्। आसन्न ११ औं महाधिवेशनका लागी यसअघि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेपनि प्रधानले यतिबेला महिला उपाध्यक्षमा उमेदवारी घोषणा गरेकी हुन्।

विगत लामो समयदेखी बेलायतमा रहेर एनआरएनए अभियानमा सक्रिय महिला अभियन्ता तथा व्यवसायी समेत रहेकी प्रधानले अग्रजहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै संस्थामा लचकता अपनाउनुपर्छ भन्ने मान्यता अनुरुप उपाध्यक्ष पदमा उमेदवारी दिएको बताएकी छन्। प्रधानले बुधबार एक प्रेस विज्ञप्ति नै जारी गर्दै औपचारीक रुपमा उमेदवारी सार्वजनिक गरेकी हुन्।

विज्ञप्तिमा उनले भनेकी छन्,‘एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो,विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाएर महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुं।’

संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने

लगायत एजेन्डा सार्वजनिक गरेकी छन् । एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय प्रधानसँग एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरिसकेको अनुभव छ। अहिलेसम्मको आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको र महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रतिबद्धता जाहेर गर्दै आफ्नो परिवर्तित चाहनामा पनि सम्पुर्ण गैर आवासीय नेपालीहरुको पूर्ण समर्थन र साथ रहेने विश्वास लिएकी छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुने तयारी छ ।