काठमाडौं।गैर–आवासीय नेपाली संघ(एनआरएनए)को काठमाडौंमा हुन लागेको ११ औँ महाधिवेशन स्थगित गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाइएको छ। एनआरएनए आजीवन सदस्य माधव मरासिनीसहितले संघको अधिवेशन स्थगित गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमा इमेलमार्फत ध्यानाकर्षण पत्र पठाएका हुन्।
परराष्ट्रमन्त्री एनपि साउदलाई सम्बोधन गरेर इमेलमार्फत पठाइएको पत्रमा गैर आवासीय नेपाली संघलाई लामो समयदेखि राजनीति गर्ने थलो, भ्रष्टाचारको अखडा र केही व्यक्तिहरुको प्राइभेट क्लब जस्तो बनाइएको भनेर दिइएको उजुरी र कानूनी रुपमै चलिरहेको लडाइएको वेवास्ता गरी एकलौटी रुपमा गर्न लागिएको महाधिवेशन अवैधानिक रहेको दाबी गर्दै ५ बुँदे मागसहित महाधिवेशन रोक्न माग गरिएको छ।
पत्रमा उल्लेख गरिएअनुसार अमेरिकाका १६ सय जना आजिवन सदस्यलाई निर्वाचन प्रक्रियाबाट बञ्चित गराई निर्वाचित गराइएको अहिलेको अमेरिकाको एनसीसी बर्खास्त गरी पुनः निर्वाचन गराउनु पर्ने, आईएलओबाट प्राप्त भएको १० करोड भ्रष्टाचार काण्ड, ललिता निवास कमिसन काण्ड, केन्द्रीय कार्यालय भाडा काण्ड र संसार भरी भएका एनसीसीहरुमा भएको भ्रष्टाचार काण्डहरुको निष्पक्ष छानबीन र दोषीउपर जरिवाना सहित साधारण सदस्यबाट बर्खास्त गर्नुपर्ने रहेको छ।
यस्तै यो संस्थाले अन्य संस्थाको लोगो अनाधिकृत रुपमा प्रयोग गरी संस्थाको अन्तर्राष्ट्रिय छबी धमिलो पारेको र नेपालमा जालसाजी पूर्वक टेड्रमार्ग दर्ता गरी कानूनी अपराध समेत गरेको आरोप लगाउँदै यस विषय चाडै टुंगो लगाई सम्बन्धीत सबैलाई साधारण सदस्यबाट बर्खास्त गर्नुपर्ने र संस्थाले अदालतमा खेपिरहेको मुद्दा फैसला भएपछि मात्रै महाधिवेशन हुनुपर्ने माग गरिएको छ ।
यद्यपी संघले यही अक्टोबरको १७ देखी काठमाडौंमा ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन गर्ने तयारी अगाडी बढाईसकेको छ। यसका लागी सरकारले पनि परराष्ट्र मन्त्री एनपी साउदको अध्यक्षतामा ११ औं गैरआवासीय नेपाली संघ विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन गरिसकेको छ। जसमा राष्ट्रिय आयोजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ सचिव, गृहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलगाएत सदस्य छन् ।
यस्तो छ परराष्ट्र मन्त्रालयलाई पठाईएको पत्रः