काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा.बद्री केसीले पुन उम्मेदवारी घोषणा गरेका छन्। संघको आसन्न ११ औँ विश्व सम्मेलन तथा महाधिवेशनका लागि वर्तमान कार्यकारी अध्यक्षसमेत रहेका डा केसीले आफ्नो उमेदवारी घोषणा गरेका हुन्। केसीले उमेदवारी घोषणासँगै विभिन्न प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।
उमेदवारी घोषणाका क्रममा डा.केसीले एनआरएनए अभियानबाट अहिलेसम्म धेरै राम्रा कामहरु र थुप्रै उपलब्धी हासिल गरेको बताउँदै विदेशमा गैरआवासीय नेपालीहरुले प्राप्त गरेको स–साना पुँजी र सीपलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यले आवश्यक ऐन कानून बनिसक्नु पनि विशिष्ट उपलब्धि भएको बताएका छन्।
यस्तै आगामी कार्यकालका लागी उमेदवारी सार्वजनिक गर्दै केसिले अध्यक्ष पदमा विजयी भएपछी गर्ने कार्य र योजनाहरुसँगै विभिन्न प्रतिबद्धता जनाएका छ। जसअनुसार उनले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा जोड दिएका छन्।
वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकार, श्रम गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने
यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने, विदेशको श्रम बजारमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष तथा पेन्सन फण्डमा सहभागी गराउन पहल, अन्तर्राष्ट्रिय श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गर्ने जस्ता प्रतिबद्धता केसीले जनाएका छन्।
यसबाहेक विदेशमा रोजगारी गुमाई नेपाल फर्किएकाहरुको सीप र क्षमताअनुसार रोजगारीको अवसर दिलाउन नेपाल सरकारसँग समन्वय गर्ने र अभिलेख तयार गरी उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन नेपाल सरकारको सहकार्यमा ‘आफ्नै माटो, स्वावलम्बी बाटो’ अभियान सञ्चालन गर्ने
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरुको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गर्ने, युरोपेली, अमेरिकी ओसेनीया क्षेत्र एवं जापान, हङकङ, दक्षिण कोरिया लगायतका देशसहित नयाँ आकर्षक श्रम गन्तव्यको पहिचान गरी सम्वद्ध देशसँग श्रम सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य लगायत पनि उनको प्रतिबद्धता छ।
नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइने केसीको प्रतिबद्धता छ। सुरुवाती पूँजी १० अर्ब रूपैयाँ रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइने उनको भनाइ छ।यसैगरी संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण गर्ने पनि उनको प्रतिबद्धता छ। जसअनुसार संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरु पूर्ण कार्यान्वयनमा ल्याउने, संघको पञ्जीकृत सदस्यतालाई वृद्धि गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई एकसुत्रमा बाँध्ने गरी सदस्यता विस्तार गर्ने, गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै उठाएको १८३ दिन भन्दा बढी विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासीय नेपाली परिभाषित गर्ने तथा विद्यार्थीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न पहल गर्नेलगायतका विषय उनले आफ्नो प्रतिबद्धतामा समेटेका छन् ।
यसैगरी गैरआवासीय नेपालीका हक हित अधिकारका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै केसीले त्यसका लागि नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नेपाली सम्बन्धि ऐन लगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
विदेशमा बस्ने नेपालीहरुलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिने
यसैगरी गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्नेजस्ता विषय उनले आफ्नो प्रतिबद्धतापत्रमा समेटेका छन् ।
ज्ञान, सीप र प्रविधिसहितको एनआरएन बनाउने प्रतिबद्धता जनाउँदै उनले संशोधित विधानमा व्यवस्था भएको एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ स्थापना गरी सक्रिय रुपमा सञ्चालन गर्ने बताएका छन्। यस्तै ज्ञान तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामूलक बनाई निरन्तरता दिने, नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाउने केसीको प्रतिबद्धता छ।
यस्तै एनआरएनए फाउण्डेसनमार्फत राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थाहरूसँग आवधिक कार्ययोजनाका साथ सहकार्य गर्ने, सहयोगपूर्ण सहभागिता र योगदान एवं कदर लगायतका विभिन्न स्कीमहरू ल्याउने, नेपाल एवं नेपाली पर्यटन प्रवर्धन गर्ने, संघमा युवा, महिला तथा दोस्रो पुस्तालाई जोड्न कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय संघ—संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि केसीले जनाएका छन् ।