काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा डा. केशव पौडेलले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । संघका वर्तमान महासचिव समेत रहेका पौडेलले आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठ समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
डा. पौडेलले संघका वर्तमान उपाध्यक्ष समेत रहेका महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले सहमतिमा नै उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको दुई कार्यकाल अध्यक्ष तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियानलाई सफल बनाउने उद्देश्यले निर्णायक भूमिका खेल्न उपाध्यक्ष पदमा दाबी प्रस्तुत गरेको जिकिर गरे ।
टिभी सन्डे डटकमसँग विशेष कुराकानी गर्दै उपाध्यक्षका प्रत्यासी डा.पौडेलले भने, ‘अहिले संविधान प्रदत्त गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन सँगै एक पटकको नेपाली सधैंको नेपाली भन्ने हाम्रो मूल उद्देश्य अनुरुप नेपाली नागरिकताको निरन्तरताको विषयलाई टुंगोमा पु-याउन मेरो भूमिका रहनेछ ।’
‘जीवन्त र सक्रिय संस्थामा कुनै विषयमा वाद विवाद आउनु वा कुनै विषयमा पक्ष वा विपक्ष हुनुलाई अन्यथा लिनु हुँदैन, उनले भनेका छन्, ‘तर त्यसले संस्थाको मुल उद्देश्यलाई हानी पु¥याउन भने हुँदैन । संस्थाको महान लक्ष्य भन्दा पर कोही जानु हुँदैन । ‘बलियो एनआरएनए हुँदा गैर आवासीय नेपालीका धेरै मुद्दाहरुलाई सम्बोधनका लागि संघले ठोस पहलकदमी लिन सक्दछ’, उनले भनेका छन्, ‘यसर्थ पनि एनआरएनएलाई एकताबद्व बनाउनु अहिलेको आवश्यकता हो ।’
प्रस्तुत छ टिभी सन्डे डटकमसँग गरिएको कुराकानीको सारसंक्षेप :
१) के उद्देश्यले तपाईं अहिले एनआरएनएको उपाध्यक्ष पदको दौडमा लागिरहनु भएको छ ?
डा. पौडेल : उद्देश्य भन्दा पनि गैरआवासीय नेपाली एउटा अभियान बोकेको संस्था हो । म अभियानमा लागेको धेरै वर्ष भयो । आगामी दिनमा यो संस्थाको नेतृत्व गर्छु भनेर अगाडि बढेको थिएँ तर नेतृत्व गर्ने धेरै आकांक्षी साथीहरु हुनुहुन्छ । दशौं महाधिवेशनबाट एनआरएनएको साख गिरेको, समयमा चुनाव गर्न नसकिएको, बहुपदीयमा जान परेको यी यावत कारणले यो संस्थालाई एकताबद्ध गरेर अगाडि लैजानुपर्छ र सर्व सम्मतिबाट नेतृत्व हस्तान्तरण गर्न सकिन्छ कि भन्ने उद्देश्यले महेश कुमार श्रेष्ठज्यूलाई अगाडि सारेका छौं ।
उहाँ अहिले संस्थाको उपाध्यक्ष हुनुहुन्छ । उहाँको नाममा सहमति हुन सक्छ कि भनेर हामीले विश्वास लिएका छौं । महेश श्रेष्ठज्यूसँगै टीममा रहेर काम गर्दा बाँकी रहेका कामहरु पुरा गर्न सजिलो हुने मैले ठानेको छु । हाम्रो मुख्य उद्देश्य भनेकै एनआरएनएको स्थापनाकाल देखिकै उद्देश्यहरुलाई कार्यान्वयन गर्दै लैजाने हो । जस्तै : नेपाललाई समृद्द बनाउँदै लैजाने, विदेशमा बसेका नेपालीहरुले सिकेका ज्ञान सीपलाई नेपालमा भित्र्याउने, नेपालीहरुले विदेशमा बाध्यताले ग्रिन कार्ड, नागरिकता लिने चलन छ, त्यो लिए पनि उनीहरुले नेपालीपन त्यागेका हुँदैनन् । त्यो अवस्थामा अरु देशको नागरिकता लिएपनि नेपालको नागरिकता कायम नै राख्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
विदेशमा रहेका नेपालीहरुका लागि सुलभ र लगानी मैत्री वातावरण बनाउने, सम्पत्तिको रक्षा गर्न लगाउने लगायतका उद्देश्यहरु छन् । एनआरएनहरुलाई यहाँ (नेपालमा) बस्ने वातावरण भएन भने भएका सबै सम्पत्ति बेचेर विदेश पलायन हुने डर छ । हाम्रो जोड नै नेपालको माटो बेच्न नदिने हो । खाडीमा रहेका नेपालीहरुको श्रमको सुरक्षा गराउने, सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने लगायतका धेरै कार्यहरु गर्नुपर्ने छ ।
२) संघभित्र धेरै असन्तुष्टी र विवादहरु बढ्दै गएका छन्, असन्तुष्ट पक्षहरुलाई यहाँहरुले कसरी मिलाएर लैजानुहुन्छ ?
डा. पौडेल : दशौं महाधिवेशनमा गर्न नचाहेका कुराहरु गर्न बाध्य हुनुप-यो । त्यसलाई करेक्सन गर्नका लागि डे वान देखि नै वार्ता कमिटी बनायौं । त्यो कमिटीले काम पनि ग-यो । सहमति पनि भयो तर सहमतिलाई कार्यान्वयन गर्न सकिएन । त्यसमा दुवै पक्षका कमी कमजोरीहरु छन् । हामी दुवै पक्षले सहमति कार्यान्वयन गर्न नसकेको कारण अहिले स्थगित छ । तर त्यसलाई नयाँ नेतृत्व आउने बित्तिकै अथवा अधिवेशनकै दौरानमा असन्तुष्ट पक्षलाई समेटेर लैजाने विषयमा हामी अघि बढ्न सक्छौं । त्यसका लागि हाम्रो पहल भईराख्छ । हाम्रो जोड छिटो भन्दा छिटो सबै साथीहरुलाई एकताबद्ध भएर अघि बढाउने नै हो ।