एनआरएनए अध्यक्षमा महेश श्रेष्ठद्धारा उमेदवारी घोषणा,यस्ता छन् प्रतिबद्धताहरु…

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा महेश श्रेष्ठले उमेदवारी घोषणा गरेका छन्। ललितपुरको होटल हिमालयमा पत्रकार सम्मेलन गरेर वर्तमान उपाध्यक्षसमेत रहेका श्रेष्ठले आगामी कार्यकालका लागी अध्यक्षमा उमेदवमरी घोषणासँगै आफ्ना पाँचबुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्रमा श्रेष्ठले

‘अबको कार्यभारः एनआरएनएको हक, हित र अधिकार’,‘जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ’, ‘संरचनागत सुधार र संस्थागत विकास’,‘समुन्नत नेपालको संकल्प’ र ‘प्राथमिकतामा युवा महिला तथा दोस्रो पुस्ता रहने’विषय उल्लेख छ।

श्रेष्ठले विश्वभरका गैरआवासीय नेपाली समुदायसँगको घनीभूत छलफल, सुझाव र प्रेरणापछि ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’बनाउने प्रण गर्दै आगामी अक्टोबरमा काठमाडौँमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए।उनले सबल, साझा र एकताबद्ध एनआरएनए,परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता रहने बताएका छन्।

एनआरएनएको आईसीसी सदस्य,कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गर्दा संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै श्रेष्ठले संघको एमआईएस सिस्टमलाई थप सुरक्षित तथा निर्वाचन प्रणालीलाई विश्वासयोग्य र विवादरहित बनाउन फेस भेरिफिकेसनलाई अनिवार्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको जानकारी दिए।

आगामी कार्यकालमा अध्यक्षका रूपमा आफूले गर्ने कामलाई पाँच नीतिगत प्राथमिकतामा विभाजन गरी ठोस कार्य योजना प्रस्तुत गरेको उनको भनाइ छ। उक्त नीतिगत प्राथमिकताको उद्देश्य हासिल गर्न ठोस कार्य योजना पनि श्रेष्ठले अघि सारेका छन्। जसअनुसार

नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, ज्ञान, सीप तथा नवप्रवर्तन भित्र्याउन ठोस पहल गर्ने, पर्यटन विकासमा पहल गर्ने, गैरआवासीय नेपालीको समस्या समाधान गर्न निर्णायक पहल गर्ने विषय उल्लेख छ।

यसबाहेक परिणाममुखी एनआरएनए बनाउने, सबैको साझा एनआरएनए बनाउन लागिपर्ने, दिगो र स्मार्ट एनआरएनए बनाउने, सरकारसँग सहकार्य गर्दै अघि बढ्ने, महिलाको सहभागिता बढाउने विषय उल्लेख छ। आफ्ना नीति योजना र कार्यक्रम कार्यान्वयनका लागि १० वर्षे विस्तृत भिजनरी दस्ताबेज बनाउन विशेषज्ञ सम्मिलित एक उच्चस्तरीय समिति गठन गर्ने श्रेष्ठको भनाइ छ। आसन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको ६ महिनाभित्र उक्त समितिले विस्तृत भिजनरी दस्ताबेज तयार गर्ने पनि श्रेष्ठको भनाइ छ।

प्रतिवेदनअनुसार २०२५ अक्टोबरसम्मको कार्यतालिकालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गरी कार्यान्वयनमा लगिने श्रेष्ठले बताए।

गैरआवासीय नेपाली संघको उद्देश्यअनुसार कामगरी संघको गरिमा, प्रतिष्ठा र छवि पुनर्स्थापित गर्ने तथा आफ्ना योजनाहरू कार्यान्वयन गर्ने संकल्पकासाथ उम्मेदवारी दिएको भन्दै श्रेष्ठले विगतमा जस्तै यस पटक पनि आफूलाई सबै गैरआवासीय नेपालीको साथ दिने विश्वास व्यक्त गरे। सबैको विवेकसम्मत निर्णयमा गैरआवासीय नेपाली समुदायको साझा संगठनको भविष्य निर्भर रहने भन्दै उनले त्यसका लागि आफूलाई निर्वाचित गराउन आग्रह गरेका छन्।