काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)अध्यक्षमा राजेन्द्रकुमार(आरके)शर्माले कर्मभुमि कतारबाट उमेदवारी घोषणा गरेका छन्। वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले कतारको दोहामा एक कार्यक्रमबाट उमेदवारी घोषणालगत्तै त्यसको १० दिनभित्रै जन्मभुमि नेपाल आएर एक कार्यक्रमकाबिच औपचारिक उमेदवारी घोषणा गर्ने बताएका छन्।
कतारको दोहामा नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा कतारमा क्रियाशिल ५७ वटा संघ,संस्थाको आयोजनामा भएको रमाइलो तिज कार्यक्रम सचेतना तथा विविध सांस्कृतिक कार्यक्रममा शर्माले आफूले ५७ वटा संस्थालाई साक्षी राखेर अध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।
“कतारमा स्थापित सबै संघ संस्थाले गरेको कार्यक्रम मार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु,”शर्माले भने, “१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डा सहित उम्मेदवारी घोषणा हुने छ।” शर्माको उम्मेदवारीले कतारका सबै सामाजिक संघ संस्थाले समर्थन जनाएका छन्।
शर्माले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै एनआरएनए आइसीसीको उम्मेदवारी सम्बृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताए । शर्माले उम्मेदवारी दिँदै गर्दा एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल,कतारका अग्रज अभियन्ता तथा पूर्व उपाध्यक्ष सागर नेपाल सहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए ।
“गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा डंगोल बन्नुभयो,” शर्माले भने, “त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नु भयो। नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ,यो पटक त्यो तोडिने छ।”
शर्माले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकता देखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए । शर्माले अमेरिकाको क्षेत्रको भ्रमणपछि काठमाडौंमा औपचारिक कार्यक्रम गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन ।