एनआरएनए उपाध्यक्षमा डा. केशव पौडेलले दिए उम्मेदवारी

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। राजधानीको होटल हिमालयमा पत्रकार सम्मेलन गरेर महासचिव पौडेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले अध्यक्षमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले ऊपाध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिँदै सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैजाने दायित्व रहेकोले आँफु अध्यक्षको उम्मेदवारबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पौडेलले बताएका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको दुई कार्यकाल अध्यक्ष तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको बताएका छन् ।

Zen Travels - Cheap tickets to Nepal

दशौँ महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्मेवारी सबैसामु रहेको उल्लेख गर्दै पौडेलले दसौं विश्वसम्मेलनमा आफुलाई महासचिवको रुपमा गरेको विश्वासप्रति सम्मान व्यक्त गर्दै आउँदो ११ औं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको बताए ।

पौडेलले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन । जसमा निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन । आफूलाई उपाध्यक्षको रुपमा उभ्याईरहँदा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन ।

यस्तै उनले एनआरएनएमा अहिले पहिलो मुद्दा भनेको नेपाली नागरिकताको निरन्तरता, दोस्रो मुद्दा एनआरएनएलाई नै संस्थागत बनाउनु र तेस्रो मुद्दा गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम भएको बताएका छन् । यसैगरी विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी आयोजना गर्न आफूले पहल गर्ने पनि पौडेलले बताए ।

साथै, संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिने, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा पनि आफूले संस्थागत रुपमा पहल गर्ने पौडेलको प्रतिबद्धता रहेको छ ।आफ्नो उम्मेद्वारीप्रति विश्वभरबाट सहभागि हुने प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीबाट साथ र सद्भाव रहने उनको विश्वास रहेको छ।