एनआरएनए उपाध्यक्षमा बस्नेतद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को उपाध्यक्ष पदमा अभिमान सिंह बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान सचिव समेत रहेका सिंहले आगामी कार्यकालमा उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन्। सन् २००८ देखि अस्ट्रेलियाको ब्रिजबेन सहरमा रहेर एनआरएनए अभियानमा सक्रिय सिंहले १० बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनहरुको ज्ञान र सिपको आदानप्रदानका लागि कार्यक्रम बनाएर व्यवसायी,बौद्धिक वर्ग र पेसाकर्मीहरूसँग छलफल र सहकार्य गर्ने, वैदेशिक रोजगारलाई अझ व्यवस्थित बनाउने, आईसीसी र एनसीसीको प्रत्यक्ष संवादको वातावरण बनाउने,आईसीसीको योजना अनि कार्यक्रमहरूलाई एनसीसीसम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने प्रतिबद्धता सिंहले जनाएका छन्।

यस्तै एनसीसीले आईसीसीलाई तिर्दै आएको ५ युएस सदस्यता लेवी घटाउन पहल गर्ने उनको प्रतिबद्धता छ। यसबाहेक आईसीसी उपाघ्यक्ष र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने, वर्तमान समयमा देखिएको प्रतिनिधि छनोटको समस्यालाई सङ्ख्या बढाएर दस हजारसम्म पुर्याउन पहल गर्ने प्रतिबद्धता पनि उनको छ।

उनले एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य संयोजक भएर काम गरिसकेका छन् भने अभियानमा नेपाली डायस्पोराको अस्ट्रेलियाली समाजमा सक्रिय छन्। यसअघि नेपाल रहँदादेखि नै सामाजिक सरोकारका काममा सक्रिय उनी हाल केन्द्रीय सचिव पदमा क्रियाशील छन्।