एनआरएनए क्यानडामा अध्यक्षका आकांक्षीहरु चुनावी मैदानमा, कसले मार्ला बाजी ?

क्यानडा / क्यानडामा हुन गईरहेको गैरआवासीय नेपाली संघको चुनावमा अहिलेसम्म सात जना प्रतिष्पर्धीहरु अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन्। एनआरएनए एनसिसी क्यानडाको चुनावमा सात जना उम्मेदवारहरु पहिलो पटक नेतृत्व गर्न एकैचोटी मैदानमा उत्रिएका हुन् ।

संघको निर्वाचनको मिति नजिकिंदै गर्दा यति धेरैको संख्यामा अध्यक्ष पदमा प्रतिष्पर्धा हुन लागेको छ । अध्यक्षका आकांक्षीहरुमा ब्राम्प्टनबाट चन्दा अधिकारी, जगन सापकोटा, किरोज श्रेष्ठ, टोरोन्टोबाट विद्याभुषण कार्की, मिसिसागाबाट मिङ्गमार नोर्गे शेर्पा, राजधानी ओटावाबाट दिपक सापकोटा र एडमन्टनबाट सुरज अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

क्यानडामा सामाजिक अभियन्ताको नामबाट चिनिएकी चन्दा अधिकारी अध्यक्ष पदका लागि मैदानमा छिन । हालको कार्यसमितिमा महासचिव रहेकी उनलाई अध्यक्षको एकजना प्रमुख दाबेदार पनि मानिएको छ। उनलाई प्रजातान्त्रिक समूहको समर्थन रहेको भनेर टिप्पणी गर्ने गरिन्छ । एनआरएनए क्यानाडाको पहिलो महिला अध्यक्ष बन्ने मौका आएको भन्दै उनले चुनावी अभियान तीब्र पारेकी छिन ।  सामाजिक कार्यमा अनवरतरुपमा सक्रिय रहेको भन्दै अधिकारीले गत मार्च महिनामा  क्यानडामा प्रदान  गरिने  किङ्ग चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गरेकी थिईन ।
त्यस्तै वर्तमान कार्यसमितिका उपाध्यक्ष किरोज श्रेष्ठ पनि अध्यक्ष पदका लागि चुनाव प्रचारमा जुटेका छन्। १८ वर्षदेखि क्यानडामा बस्दै आएका किरोज पेशाले ईन्जिनियर हुन । क्यानडामा उनी सरकारी कार्यालय  टोरोन्टो ट्रान्जिट कमिसनमा ईलेक्ट्रिकल ईन्जिनियर पदमा कार्यरत छन । राजनीति विनाको एनआरएन क्यानडा बनाउने संकल्प लिएर उनी मैदानमा उत्रिएका छन । एनआरएनएलाई राजनीति गर्ने थलोबाट टाढै राख्दै सेवा गर्ने ठाउँको रुपमा चिनाउन यस पटक उनी चुनावी अभियानमा होमिएका छन्।
अध्यक्ष पदमा एडमण्टनबाट बर्तमान उपाध्यक्ष सुरज अधिकारीले पनि उमेदवारी घोषणा गरेका छन्। पेशाले इञ्जिनियरिङ्ग क्षेत्रमा क्रियाशील अधिकारी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छन्। क्यानडाको एडमन्टन क्षेत्रलाई कर्मथलो बनाएका अधिकारीको आफनै इञ्जिनियरिङ्ग र कन्सल्टिंग कम्पनी छ । राजनीतिक भन्दा पनि व्यावसायिक र सामाजिक सेवा भावले संस्थालाई अगाडि बढाउन आफुले उम्मेदवारी दिन लागेको अधिकारीको भनाई छ ।
अध्यक्षको आकांक्षा राखेर उम्मेदवारी घोषणा गर्नेमा हालको कार्यसमितिका कोषाध्यक्ष विद्याभूषण कार्की पनि एक बलिया प्रतिष्पर्धी मानिन्छन। कार्की, अन्टारियोका ‘चार्टड प्रोफेसनल एकाउन्टेन्ट’ हुन्। नेपालमा रहँदा राष्ट्रिय वाणिज्य बैंक र नेपाल राष्ट्र बैङ्कमा करिब एक दशकको अनुभव बटुलेर कार्की सन् २०१५ मा क्यानाडा आएका हुन्। क्यानाडामा उनले करिव ५-७ वर्ष फाइनान्सियल क्षेत्रमा काम गरे।  सन् २०२२ देखि उनले आफ्नै बिड सिपीए प्रोफेसनल कर्पोरेशन संस्था खोलेर सरकारलाई ट्याक्स फाइल गर्ने काम गर्दै आइरहेका छन्।  क्यानडामा उनले नेपालीहरुको सुविधाको लागि सामाजिक तथा सामुदायिक क्षेत्रमा समेत विभिन्न सहयोग गर्दै आएका छन्।
अध्यक्षको दौडमा पुराना व्यवसायी मिङ्गमार नोर्गे शेर्पा पनि अगाडि छन । रेष्टुरेन्ट व्यवसायी शेर्पा यस पटक एनआरएनए भित्र राजनीति गर्नेहरुले भन्दा पनि विशुद्ध समाजसेवा र स्वतन्त्र व्यवसाय गर्नेहरुले चुनाव जित्नुपर्ने तर्क अगाडि सार्छन । क्यानाडाको एनआरएनएलाई राजनीति गर्नेहरुबाट टाढै राख्नुपर्ने अभियानका साथ उनी चुनावी मैदानमा होमिएका हुन ।
यसैगरी, जगन्नाथ (जगन) सापकोटा पनि अध्यक्षका अर्का आकांक्षी हुन्। उनी २०२३–२०२५ को कार्यसमितिमा ब्राम्प्टनबाट निर्वाचित सदस्य हुन्। उनलाई वामपन्थी समूहको समर्थन रहेको टिप्पणी गरिन्छ। क्यानडामा रियल्टरको काम गर्दै आएका सापकोटा क्यानडामा रहेका नेपालीहरु माझ परिचित अनुहार हो । उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्।
त्यसैगरी क्यानडाको राजधानी ओटावाबाट अध्यक्ष पदमा दिपक सापकोटाले पनि उम्मेदवारी दिन लागेका छन । सामाजिक कार्यमा सक्रिय सापकोटा ओटावा क्षेत्रका लागि परिचित नाम हो।