कोशी प्रदेश सरकारको वैधानिक वहस आज पनि, निक्र्यौल निकाल्ने तयारी

काठमाडौं। कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि वहस निरन्तर हुने भएको छ।मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ।

बुधबार पुनः वहस जारी रहने छ। गत सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतका लागि हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको छ भने सर्वोच्चले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले थापा सरकारविरुद्ध सर्वोच्चमा गत असार २२ मा रिट निवेदन दिनुभएको थियो।