एजेन्सी। भारतमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुधबार लोकसभामा अविश्वासको प्रस्ताव लैजाने भएका छन् ।आगामी वर्ष हुने लोकसभा निर्वाचनका लागि गठन गरिएको “इण्डिया” नामको विपक्षी गठबन्धनले प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको हो।
पूर्वोत्तर राज्य मणिपुरमा तीन महिना यता भड्किएको जातीय हिंसामा आधारित रहेर विपक्षीहरुले अविश्वास प्रस्ताव लैजान लागेका हुन । लोकसभामा सत्तारुढ भारतीय जनता पार्टीको स्पष्ट बहुमत रहेकाले अविश्वास प्रस्तावले प्रधानमन्त्री मोदीलाई भने कुनै फरक पर्ने छैन ।
तर, विपक्षीहरुले मणिपुर हिंसामा संसदमा बहस गराउने र प्रधानमन्त्री मोदीलाई जवाफ दिन बाध्य पार्ने उद्धेश्यले अविश्वास प्रस्ताव लैजाने रणनीति लिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
विपक्षी दलहरुले लोकसभा र राज्यसभामा मणिपुरको अवस्थाबारे प्रधानमन्त्री मोदीबाट जवाफ खोजे पनि मोदीले अहिलेसम्म जवाफ दिनुभएको छैन ।




