ललिता निवास प्रकरणः पूर्व मुख्यसचिव पौड्यालपछी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिने तयारी

काठमाडौं। ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग पनि बयान लिइने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएपछी पूर्वप्रधानमन्त्रीद्वय सँग पनि बयान लिने तयारी गरेको हो।

सरकारी जग्गामा नक्कली मोही खडा गर्ने निर्णय प्रक्रियामा सामेल भएको आरोपमा अस्ति बेलुका कार्यालयमै बोलाएर बयान लिएको र आवश्यक परे फेरि बोलाउने सीआईबीले जनाएको ।पौड्यालले बयानका क्रममा जग्गा हिनामिना गर्ने आफ्नो नियत र उद्देश्य नरहेको, तलबाट आएका फाइललाई मन्त्रिपरिषदमा पेस गर्ने र मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न मन्त्रालयलाई पठाउनेबाहेक आफू संलग्न नरहेको जवाफ दिएका थिए।

उनले डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकमा समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लैजाने प्रस्ताव पेस गरेका थिए। यसअघि २०७६ मंसिर १५ मा पनि सीआईबीले चीनका लागि नेपाली राजदूत रहेकै बेला उहाँलाई यसबारे सोधपुछ गरेको थियो। सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ ।

सङ्गठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महलका दफाअन्तर्गत उहाँहरुलाई बयानमा बोलाउन लागिएको हो। गएको असार १२ मा ललिता निवास जग्गा प्रकरणका केही आरोपितलाई पक्राउ गरेर अघि बढेको अनुसन्धानलाई सीआईबीले आउँदो भदौ पहिलो हप्ताभित्र पूरा गरिसक्नुपर्ने हुन्छ ।

सङ्गठित अपराधको कसुरमा आरोपित पक्राउ परेपछि अनुसन्धान गर्न प्रहरीलाई अधिकतम ६० दिनको समय हुन्छ। सर्वोच्च अदालतले साउन २१ मा निर्णायाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सीआईबीको हिरासतमा रहेका छन् ।