सुन प्रकरण : ’ब्रेक शु’ मा लुकाएर ल्याएको सुन झन्डै ६१ किलोमात्रै, अझै घट्न सक्ने

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुनको परिमाण ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको छ।

बरामद भएको ’ब्रेक शु’ भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। तर यसमा अझै केही कालो पदार्थ मिसिएको रहेकाले पगालेपछि तौल केही घट्न सक्नेछ। आज मङ्गलवार बिहान फेरी सुन पगाल्ने महाशाखाले जनाएको छ ।

हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो ।

यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।