बरामद गरिएको क्विन्टल सुन जोख्न सीआईबीको पत्र, यस्तो छ प्रक्रिया…

काठमाडौं । बरामद गरिएको एक क्विन्टल सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट बरामद गरिएको करिब एक क्विन्टल सुन जोख्न सिआइबिले महाशाखालाई पत्र लेखेको हो । महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्यूरोको पत्र आफूहरुलाई प्राप्त भएको भन्दै सुन जोख्ने प्रक्रिया सुरु हुने बताए। ‘आज सामान खोलेर सुन छुट्टयाउँछौं, त्यसपछि गाल्ने प्रक्रिया सुरु हुन्छ’,उनले भने ।

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो।

‘अब सुन छुट्याएर सकियो भने जोख्ने काम एकैदिनमा सकिन्छ, त्यसपछि गुणस्तर जाँचका लागि थप तीन दिन लाग्छ’, आचार्यले थपे।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो। अहिले सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।