काठमाडौं।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू युरोप भ्रमणमा जानेबित्तिकै ललितानिवास जग्गा प्रकरणका विषयमा जोडेर विभिन्न टीकाटिप्पणी गरिएको आरोप लगाएका छन्। आफू पूर्वानिर्धारित कार्यक्रमका सिलसिलामा विदेश गएर फर्किएको भन्दै आँफु भागेर कतै जाने खालको मान्छे नभएको दाबि गरेका छन्।
प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमणका लागि गएका अध्यक्ष नेपाल सोमबार बिहान स्वदेश फर्किदैँ गर्दा विमानस्थलमा उनले आफू यहाँबाट जानेबित्तिकै ललितानिवास जग्गा प्रकरणका विषयमा जोडेर विभिन्न टीकाटिप्पणी गरिएको उनले उल्लेख गरे।विगतमा राजाले गिरफ्तार गर्न खोज्दा समेत नभागेको र चुनौतीको सामना गर्ने आफ्नो बानी रहेको उनको दाबी थियो।
चुनौती दिइसकेपछि सिधा सामना गर्ने आफ्नो शैली रहेको भन्दै उनले भने, ‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’। तह लगाउनुपर्ने भए लगाएरै छोड्ने आफ्नो बानी रहेको उनको भनाइ छ।
“म यहाँबाट जानेबित्तिकै केहीकेहीहरूले, अधिकांशले त ठिकै लेख्नुभयो। केहीकेहीहरूले माधव नेपाल भागे, लुकेर बसेका छन्, उनको नेपालमा फर्कने योजना पनि छैन, हिम्मत पनि छैन भनेर भनिसकेपछि मेरो पनि बानी के छ भने, चुनौती नदिएसम्म त म चुप लागेर बस्छु,चुनौती दिइसकेपछि सिधा सामना गर्छु। म त्यस्तो नेचरको मान्छे हुँ,” उनले भने,“म न बोल्दिनँ, बोलिसकेपछि अब तह लगाउनुछ भने तह लगाएरै छोड्छु।”
चार देशको भ्रमण तालिका रहेपनि नेपालमा आफूलाई जोडेर विभिन्न्न विषय उठाइएकाले बीचमै स्वदेश फर्किएको उनले बताए। उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए।
त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो। नेपाल प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषद्बाट गरिएको निर्णयका कारण उनी ललितनिवास जग्गा प्रकरणमा मुछिएका हुन्।