जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)उपाध्यक्ष तथा आगामी निर्वाचनमा अध्यक्ष पदका उमेदवार आरके शर्माले नेपाली युवाहरु विदेशिने क्रमलाई रोक्न गैर आवासिय नेपालीहरु लाग्नुपर्ने बताएका छन्। गैर आवासियहरुले नेपालमा लगानी गरेर देशलाई विकसित बनाएर युवाहरु विदेशिने क्रमलाई रोक्नुपर्ने बताएका छन्।
गैरआवासिय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशन केन्द्रित अभियान लिएर जापान पुगेका उपाध्यक्ष शर्माले चितवन समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागिता जनाउदै यस्तो बताएका हुन्। कार्यक्रममा शर्माले नेपालीहरू विदेशमा एउटा सपना लिएर आएको र देशको आर्थिक विकासको सपना सबैले देखेको हुँदा यसलाई साकार पार्न विदेशमा बस्ने नेपालीहरू लाग्नुपर्ने बताए।
आगामी कार्यकालको लागि अध्यक्ष पदका आकांक्षी उपाध्यक्ष शर्माले एनआरएनहरु अहिलेसम्म सामाजिक मुद्दामा मात्रै केन्द्रीत भएकोमा अबको मुद्दा आर्थिक विकास र सम्बृद्धि हुनु पर्ने बताए। “स्थापनाको दुई दशक सामाजिक मुद्दामा मात्र हामीहरू केन्द्रित भयौँ,”शर्माले भने,“सामाजिक मुद्दालाई निरन्तरता दिएर अबको मुद्दा आर्थिक विकास हो,आर्थिक सम्बृद्धि हो,हामीहरू त्यसमा लाग्नुपर्छ।”
“गैरआवासीय अभियान ८० देशमा फैलियो भन्दै गर्दा देशभित्र बस्नेको संख्या खाली भयो भनेर समेत हामीहरू चिन्तित हुनुपर्ने स्थिति छ,”शर्माले जापानमा आयोजित कार्यक्रममा भने,“देशलाई विकसित बनाएर विदेशमा आउने क्रमलाई हामीले रोक्न लाग्नुपर्छ।”शर्माले देश विकासको योजनाका लागि आवश्यक पर्ने लगानी लागि विदेशमा बस्ने नेपालीहरूले सामूहिक लगानीबाट सम्भव हुने र त्यसको आफूले अवधारणा ल्याएको जानकारी जापानका अभियन्ताहरूलाई गराएका थिए।
१५ वर्षदेखि एनआरएनए अभियानमा निरन्तर लागिरहेको जानकारी गराउँदै शर्माले भने,“अभियानलाई अगाडि बढाउनको लागि विश्वभरका अग्रज अभियन्ताहरूको सल्लाह र सुझाव लिने क्रममा जापान आएको छु,तपाईँहरूको सुझावले नै अभियानलाई अगाडि बढाउने छु।”