जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए) उपाध्यक्ष आरके शर्माले एनआरएनए अभियानले अब विकासको मुद्दा बोक्नुपर्ने बताएका छन्। गैरआवासीय अभियानको क्रममा जापान भ्रमणमा रहेका शर्माले एनआरएनलाई अब विकासमा केन्द्रित गराउनुपर्ने बताएका हुन्।
गैरआवासिय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशन नजिकिँदै गरेको सन्दर्भमा चुनाव केन्द्रित अभियान लिएर जापान पुगेका उपाध्यक्ष शर्माले एनआरएनए आइसिसि जापानको नयाँ कार्यसमितिको शपथग्रहण समारोहमा सहभागिता जनाएका थिए।
आगामी ११ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका शर्माले सोही क्रममा एनआरएनएमा एनसीसीको महत्त्वपूर्ण योगदान भएपनि निर्वाचनका कारण यसलाई विवादमा ल्याउने गरिएकोमा अब त्यसबाट मुक्त हुनुपर्ने बताए।
चुनावदेखि चुनावसम्ममा मात्र केन्द्रित हुँने प्रचलनले १० औँ महाधिवेशनमा दुर्घटनामा पर्न जोगिएको अभियानलाई अब एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। शपथ समारोहमा उनले यो अभियानमा कसैको जितहार नहुने भन्दै विजेताले उपविजेतालाई साथ लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए।
“आइसीसीको नेतृत्वको लागि लिएर एनसीसीमा मिलेर बसेको समाजलाई विभाजित नगर्न म अनुरोध गर्दछु,नेतृत्वमा जो आएपनि समाजमा मिलेर एनसीसीका साथीहरू बस्नुपर्छ।” शर्माले भने ।
सो समारोहमा एनआरएनए एनसीसी जापानका नवनिर्वाचित अध्यक्ष नविन निउरेसहितको नवनिर्वाचित कार्यसमितिले उपाध्यक्ष शर्मा सहित गैर आवासिय नेपाली संघका विभिन्न अभियन्ताहरूको उपस्थितिमा शपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन ।