काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि)को सचिव पदमा टंक प्रसाद गैरेले उम्मेदवारी घोषणा गरेका छन। बहालवाला सहकोषाध्यक्षसमेत रहेका गैरेले आगामी कार्यकालका लागी आइसिसि सचिव पदमा दावेदारी घोषणा गरेका हुन्।
गैर आवासीय नेपाली संघ जापानमा सन् २०११ मा प्रवेश गरेपछी आईसिसि सदस्य हुँदै अहिले सहकोषाध्यक्षमा रहेर काम गरेका गैरे एनआरएनए अभियानमा हरेक क्रियाकलापमा निरन्तर सक्रिय रहदै आएका छन् भने एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर पनि आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन्। गैरेसँग एनआरएनएसँगै लायन्स क्लवको अध्यक्षसहित अन्य विभिन्न संघसंस्थाको जिम्मेवारीमा रहेर सामाजिक कार्य गर्दै आएको अनुभव पनि छ।
संस्थागत विकास,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यसपटक आफू सचिव पदमा उम्मेदवारी दिएको गैरे बताउछन। उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यसपटक आँफुले सचिव पदमा उम्मेदवारी दिएका बताउदै गैरेले गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्दै आफू अगाडी बढ्ने बताएका छन्।
यस्तै गैरेले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न,विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन पनि अत्यावश्यक रहेको भन्दै त्यसैका लागी आफ्नो उमेदवारी रहेको बताए।
जापान तथा नेपालमा धेरै व्यवसायमा लगानी गरेर नेपालीहरुलाई रोजगारी सृजना गराएका गैरेले गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु चिनाउने प्रतिबद्धता जनाएका छन्।
उनले यसपटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता, युवा, महिलाको सहभागिता, श्रमिकमैत्री, वंशजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने, पर्यटन प्रर्वद्धन, विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता, सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप, ज्ञान, पूँजी नेपालमा सुरक्षित गर्न लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन। गैरेले आफ्ना थप एजेण्डाहरु भने केहि दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएका छन्।