सुन प्रकरणमा काँग्रेसमा विभाजन : तत्काल छानबिन समिति बनाउन शेखर कोइरालाको माग

काठमाडौं। क्वीन्टल सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसभित्र दुइ धार देखिएको छ। सभापति देउवासहितका नेताहरले छानविन समिति बनाउन आवश्यक नरहेको बताउदै आइरहेको बेला नेता डा.शेखर कोइरालाले यो प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति तत्काल बनाउन माग गरेका छन्।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता कोइरालाले सुन अनुसन्धानको तार्किक निष्कर्शमा पु¥याउन उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखेका हुन्। नेपाली कांग्रेसकै समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्ड स्वयं सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनेबारे सकारात्मक छैनन्।

नेकपा एमालेले भने लामो समयदेखि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। गतसाता गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे संसदमा जवाफ दिएका थिए।उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अन्तिम प्रतिवेदन नआउञ्जेल अर्को समिति आवश्यक नरहेको बताएका थिए।

गृहमन्त्रीको जवाफमा चित्त नबुझाएपछि एमालेले संसद अवरोध गर्दै आएको छ। कांग्रेस नेता कोइरालाले एमालेकै लाइनमा सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखेका हुन्। कोइरालाको भनाइले सुन छानबिन प्रकरणमा सत्तारुढ दल नै विभाजित भएको देखिन्छ।

बैठकमा बोल्दै कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिरहेको बताएका छन्। उनले सांसद सुनिल शर्मा पक्राउ गरिएकोमा असन्तुष्टि पोखेका छन्। प्रतिशोधको भावनाले नेताहरूलाई गृहमन्त्रीले पक्राउ गरिरहेको उनको भनाइ छ।