काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा पुन विवाद उत्कर्षमा पुगेको छ। यससँगै दुई चिरामा रहेका एनआरएनएबीच एकता गर्ने सहमती दुई महिना नपुग्दै सङ्कटमा परेको छ। कार्यकारी अध्यक्ष बद्री केसीको कार्यशैलीका कारण एकता सङ्कटमा परेको विनोद कुँवर अध्यक्ष रहेको समुहले आरोप लगाएको छ। कुँवरले पूर्व सहमति कार्यान्वयन नभएपछि एकता सङ्कटमा परेको बताए।
राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा बद्री केसी समूहले सहमति कार्यान्वयन नगरेको र पेलेर जान खोजेको कुँवर पक्षको भनाइ छ। सङ्घकी महासचिव जानुका गुरुङले विज्ञप्ति नै जारी गरेर विवाद उत्पन्न भएपछी विशेष अधिवेशन स्थगित भएको बताएकी छन् ।
गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा गरिएको सहमति राष्ट्रिय समन्वय परिषद्हरूको महाधिवेशनमा कार्यान्वयन भएन। धेरै राष्ट्रिय समन्वय परिषद्हरूमा हाम्रा सदस्यहरूलाई एमआईएस प्रणालीमा आबद्ध हुन दिइएन। समय एवं नियमावलीको बहानामा उक्त प्रणालीमा आबद्ध हुन नपाउँदा उम्मेदवारी दिने र मतदान गर्ने प्रक्रियाबाट पूर्णरुपमा योजनावद्ध रुपमा अलग्याउन खोजिएको साथीहरूले महसुस गर्नुभएको छ ।”
केसी समूहको व्यवहारले सङ्घको एकताको ढोका बन्द हुन पुगेको समेत गुरुङले बताएकी छन्। केसी समूहले योजनाबद्ध रूपमा अर्को पक्षकालाई सहभागी हुन रोकेपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को १६ औँ बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा थप भनिएको छ,“यतिमात्र होइन हामीसँग रहेका, बनेका, राष्ट्रिय महाधिवेशन भएका र हुने तयारीमा रहेका देशका एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा स्पष्ट धारणा नआएको कारण एकीकरणको ढोका बन्द भएको छ। समय गुज्रिसक्यो तर यस विषयमा स्पष्ट धारणा आउने कुनै सम्भावना पनि देखिएन र केवल हामीलाई समय लम्ब्याएर राष्ट्रिय समन्वय परिषद्हरूमा जस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पनि अक्टोबरसम्म लगेर भुलाउने योजना देखिएकोले त्यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौ।”
गत असार ३ गते दुई एनआरएनएबीच एकतासम्बन्धी ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो। समझदारीपत्रमा एनआरएनएका अध्यक्ष बद्री केसी, विनोद कुँवरसहित सङ्घकी महासचिव जानकी गुरुङ र डीबी क्षेत्रीले हस्ताक्षर गरेका थिए। विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उक्त सहमति भएको थियो ।