काठमाडौँ। नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद डा.सुनील शर्मा रिहा भएका छन्। शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा हिजो पक्राउ परेका शर्मा आज साँझ थुनामुक्त भएका हुन्।
अदालतले‘तारेखमा राखेर अनुसन्धान गर्नु’भन्ने आदेश गरेपछि कांग्रेसका सांसद डा.सुनीलकुमार शर्मालाई रिहा गरिएको सिआईबीका एसपी नवराज अधिकारीले बताए। मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद शर्माको कक्षा १२ शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा ब्यूरोले पक्राउ गरेको थियो।
थुनामुक्त भएका शर्मालाई मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले स्वागत गरेका छन्। शर्मालाई दुर्गा प्रसाईँ र शर्माका परिवारका सदस्यले जिम्मा लिएका छन्। अनुसन्धान अधिकृतले उनलाई बयान गराउने लगायतका अनुसन्धान थुना बाहिर राखेर गर्न सक्ने कानूनी व्यवस्था छ।
यसअघि जिल्ला अदालत काठमाडौँले शर्मालाई थुनामा नराख्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको हो।
शर्मासँगै यो प्रकरणमा पक्राउ परेका अरु भने रिहा भएका छैनन्।