परराष्ट्रमन्त्री साउदलाई एनआरएनएको ध्यानाकर्षण, इराकमा पासपोर्ट नवीकरणदेखी पुनः श्रमस्वीकृतिको माग

काठमाडौँ।गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता भएको छ। एनआरएनए उपाध्यक्ष आरके शर्मासहितको टोलीले परराष्ट्रमन्त्री साउदसँग बुधबार सिंहदरबारमा भेटवार्ता गरेको हो। भेटवार्तामा टोलीले इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएएको उपाध्यक्ष शर्माले जानकारी दिए। यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरुलाई पुनः श्रमस्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ।

यस कुरामा परराष्ट्रमन्त्री साउद सकारात्मक देखिएका छन्। टोलीले मध्यपूर्वका दूतावासको घुम्ती टोली वा परराष्ट्रमार्फत नै विशेष व्यवस्था मिलाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ।यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने छन्।अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरु इराक पुग्ने गरेका छन्।

सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए। तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रमस्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरर निर्णय गर्न सकिने जवाफ दिएको थियो।

सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए। भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।