भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा एनआरएनको लगानी, यसरी लिए सुवेदीले रिसोर्टको स्वामित्व..

काठमाडौं ।भैरहवास्थित टाइगर प्यालेस पाँचतारे रिसोर्टमा एनआरएन(गैर आवासीय नेपाली)हरुले लगानि गरेका छन्। नेपालबाट विभिन्न समयमा अमेरिका पुगेर त्यहाँ पनि होटल व्यवसाय नै गर्दै आएका एनआरएनहरुले यतिबेला टाइगर प्यालेसमा लगानि गरेका हुन्।

लगानिकर्ता एनआरएनहरुमा एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,एनआरएनए अध्यक्ष कुल आचार्य,महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतको समूह रहेको छ।

हाल सुवेदी अध्यक्ष रहेको अमेरिकामा सञ्चालित हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो।

सुवेदिका अनुसार टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेपनि सफल भएको थिएन।हाल सुवेदीसहितको एनआरएनए समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको छ।

सुवेदीले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सबै गर्दा रिसोर्टको लागत पाँच अर्ब रुपैयाँभन्दा बढी पुग्ने बताएका छन्। हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदी र उनको समुहले अमेरिकामा हायात, होलिडे इन,ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु र अन्य विभिन्न कम्पनीहरु सञ्चालन गरिरहेका छन।

रुपन्देही तिलोत्तमा नगरपालिका कोटिहवामा १७ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा क्यासिनोसमेत सञ्चालनमा रहेको छ। रिसोर्टमा १ सय ५ कोठा रहेका छन। २०७४ सालबाट सञ्चालनमा रहेको रिसोर्टमा हङकङको सिल्भर हेरिटेज ग्रुपकोै मात्र ५ अर्ब २० करोड लगानी रहेको थियो । उक्त ग्रुपको नेपालस्थित सहायक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले उक्त कम्पनी सञ्चालनमा ल्याएको हो।

सुवेदीले आफ्नो अमेरिकाको १५ वर्षभन्दा बढी होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ सुरु गरेको र यो प्रोजेक्ट एनआरएनको सामुहिक लगानीअन्तर्गत नै रहेको बताएका छन्। यस्तै उनले सरकारलाई तिर्नुपर्ने सबै दायित्व आफूहरुले ३० दिनभित्रमा चुक्ता गर्नेसमेत दावी गरेका छन्।