ललिता निवास प्रकरण : यसकारण लम्बियो बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ..

काठमाडौ। ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ लम्बिएको छ। रिट निवेदकका तर्फबाट बहस गर्ने वकिल धेरै भएका कारण सुनुवाइ लम्बिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो पनि बहस हुँदाहुँदै समय सकिएपछि यो विवादमा आज पनि सुनुवाइ हुँदैछ।

ललिता निवासको सरकारी जग्गा हिनामिना अभियोगमा असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले असार १३ गते तथा सचिव कृष्णबहादुर राउतले पक्राउ परेको ३ दिनपछि असार २७ गते रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि त्यसको सुनुवाइ भइरहेको हो।

पक्राउ परेकाहरुले रिहाइको माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ। आफूलाई पक्राउ नगर्न माग गरेका टीकाराम घिमिरेसहितका निवेदन पनि साथै राखिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटार जग्गा प्रकरणमा उनीहरुसहितलाई पक्राउ गरेर कीर्ते र सङ्गठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ। सीआईबीले ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।