काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका बाहिर आएको छ।सो आशंका उत्पन्न भएसँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ।
विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ।
विभागले हिजो त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो। अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ।
विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन्। विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थान खानतलासी गरेको थियो।




