काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको छ। ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको छ।
आजै काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई धरौटीमा छाड्न आदेश दिएपछी उनि छुटेका थिए। २७ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरेको थियो।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो।
जसमध्ये कांग्रेस नेता बालकृष्ण खाँण,एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा पठाइएका छन् भने दुई जना भने धरौटी बुझाएर रिहा भएका छन्। तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए। उनी पक्राउ परेपछि आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।