ग्यास र पेट्रोलियम पदार्थको मूल्य व्यापक घट्यो

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आज राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर छ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको हो।

ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ। त्यस्तै पेट्रोलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर एक सय ६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक–फरक दर कायम भएको छ। डिजलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर एक सय ४६ रुपैयाँ पर्नेछ।

निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ।

भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ। भारतीय आयल कर्पोरेशन(आईओसी)को ३१ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो।