काठमाडौं। नेपालबाट यो आर्थिक वर्षमा अहिलेसम्मकै धेरै फलाम र स्टिलजन्य वस्तुको निर्यात भएको छ।चालु आर्थिक वर्षको बजेटमा सरकारले स्टिलजन्य वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेकाले यो वर्ष अहिलेसम्मकै धेरै निर्यात भएको हो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् साउनदेखि जेठसम्म नौ अर्ब ८९ करोड ९६ लाख रुपैयाँको फलाम र स्टिलजन्य वस्तु निर्यात भएको छ। सबैभन्दा धेरै भारतमा नौ अर्ब १६ करोड ७६ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात भएको विभागले जनाएको छ।
यस्तै रोमानिया र ताइवानमा पनि नेपाली स्टिलजन्य वस्तु निर्यात भएको छ।गएको अर्थिक वर्ष २०७८/७९ मा नेपाललले जम्मा तीन अर्ब ८७ करोड रुपैयाँको स्टिलजन्य वस्तु निर्यात गरेको थियो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा फलाम,स्टिल,सिमेन्ट, क्लिङ्कर, जुत्ताचप्पल, प्रशोधित पानीलगायत ३६ वटा वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा १५ दिनभित्रै आठ प्रतिशत नगद अनुदान जम्मा गरिदिने व्यवस्था गरेको छ।
यो वर्ष नेपालबाट सिमेन्ट र प्रशोधित पानीको निर्यातमा पनि नयाँ रेकर्ड बनेको छ।तर नौ अर्ब ८९ रुपैयाँको फलाम र स्टिलजन्य वस्तुको निर्यात भएपनि कच्चा पदार्थ भने सबै विदेशबाटै आयात हुन्छ। ११ महिनामा नेपालले एक खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँको फलाम र स्टिल आयात गरेको छ।