एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा खरेलको उम्मेदवारी घोषणा

काठमाडौँ ।गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा एनआरएन अभियन्ता डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन्।न्यु साउथ वेल्समा आइत्बार आयोजित एक समारोहकाबिच खरेलले उम्मेदवारी घोषणा गरेका हुन्। गुल्मीमा जन्मिएर चितवन थातथलो रहेका खरेल गएको १७ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन्।

सन् २००६ मा अस्ट्रेलिया पुगेका खरेल अहिले लेखा,वित्त, कर र बीमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको एक कम्पनीको प्रमुख भएर काम गरिरहेका छन्। जुलाई २९ तारिखमा हुने एनआरएन अस्ट्रेलिया एनसीसीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका खरेलले आफू र आफ्नो टिमसँग स्पष्ट मिसन र भिजन भएकाले अत्यधिक मत पाउने अपेक्षा गरेको बताए।

सन् २०१५ देखि २०१७ सम्मको कार्यकालमा कोषाध्यक्ष रहेका खरेलले विगतमा आफूले उठाउने पारदर्शीताको मुद्दालाई अबको कार्यकालमा पनि खरोरुपमा उठाउने प्रतिवद्धता जनाएका छन्। पछिल्लो समय नेपाली विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको अस्ट्रेलियामा समस्यामा पर्नेहरुलाई सहयोग गर्न विशेष योजना ल्याउने उनले बताएका छन्।

‘एनआरएनए सबैको साझा संगठन हो,यसलाई सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’,उनले बताए।उनले ‘हाम्रो एनआरएन राम्रो एनआरएन’ बनाउन सहयोग गर्न अष्ट्रेलियावासी नेपालीहरुलाई अपिल पनि गरेका छन्।