‘एनआरएनएमा शुद्धिकरण अभियान चलाउन अत्यावश्यक छः’ लक्ष्मण दर्लामी मगर, उमेदवार, बोर्ड अफ डायरेक्टर

काठमाडौं।आसन्न गैरआवासिय नेपाली संघ एनआरएनएको निर्वाचनका लागी लक्ष्मण दर्लामी मगरले गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको बोर्ड अफ डायरेक्टर पदका लागी उमेदवारी दिएका छन्। उनले एनआरएनएभित्र शुद्धिकरण अभियान चलाउन अपरिहार्य रहेको भन्दै उमेदवारी दिएको बताएका छन्।

विगत देखि नै केही व्यक्तिहरुका स्वार्थ र अहंकारी आकांक्षाहरुको चपेटामा पर्दा एनआरएनए विवादित र आलोचित हुदै आएकोले यसबाट मुक्त गर्न जरुरी रहेको भन्दै उनले एनआरएनएमा शुद्धिकरण अपरिहार्य रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस समेत सार्वजनिक गर्दै उमेद्धारीसँगै आफ्ना धारणा पनि व्यक्त गरेका छन्।

जसमा उनले एनआरएनए सेवामुलक सामाजिक सस्था भएपनि क्षणिक स्वार्थमा तल्लीन व्यक्तिका कारण विवादित बनेकोले यसबाट मुक्त राख्नुपर्ने उल्लेख गरेका छन्।

उनि लेख्छन्,‘गैरआवासिय नेपाली संघ एउटा पवित्र उद्देश्य बोकेर नेपाल र गैरआवासिय नेपालीका समस्या समाधानको लागि स्थापित संस्था हो। यति हुदा हुदै पनि विभिन्न व्यक्तिहरुका स्वार्थ र अहंकारी आकांक्षाहरुको चपेटामा पर्दा यो संस्था पनि विवादित र आलोचित हुदै आइरहेको कुरा सर्वविदित नै छ। यी चुनौतीहरुका बिच पनि यस संस्थाको मातहतमा विभिन्न कालखण्डमा नेपाल र नेपालीको हितमा गरिएका मानवीय कामहरुको स्मरण गरेनौ भने त्यो न्यायोचित हुने छैन।’

उनले विगतमा संस्थाको मातहतमा विभिन्न कालखण्डमा नेपाल र नेपालीको हितमा गरिएका मानवीय कामहरुको स्मरण नगरेको खण्डमा त्यो न्यायोचित नहुने पनि उल्लेख गरेका छन्।

यस्तो छ उनको पुरा स्टाटसः

‘आदरणीय अमेरीकावासी नेपाली बुवा-आमा, दाजु-भाई, दिदि-बहिनी, लाफाहरुमा नमस्कार तथा झोर्ले!!
बिगत २२ वर्ष देखि यहाहरुको सामिप्यमा रहदै समाजका विभिन्न क्रियाकलापमा सहभागी हुदै आएको यहाहरुलाई अवगत नै छ। सर्ब प्रथम, म यस अन्तरालमा अमेरिका देखि नेपाल सम्मका स्थानीय संघ-संस्थामा आबद्ध रही सेवा गर्ने अवसर जुटाई दिनु हुने सम्पुर्ण मेरा परिवार,हितैषी तथा शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।
अतितका कमि कमजोरीलाई मनन् गरि सुधारिदै, खारिदै,समाज सेवा लिनेको होइन दिनेको, स्वार्थको होइन बिचारको, पदलोलुप्ताको होइन योग्यताको भन्ने मुल मर्मलाई जीवन्त राख्दै अगाडी बढ्ने प्रण गरेको छु। यसैक्रममा,आगामी कार्यकाल (२०२३-२०२५)को लागी गैरआवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद, अमेरिकाको बोर्ड अफ डिरेक्टर पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।

थोपा-थोपा पानीले समुद्र बन्छ भनेझै तपाई र हाम्रो सहकार्यले संस्था बन्छ र यो एक आवश्यक संवाहक हो जो आफैमा नराम्रो हुदैन। तर यसको मुल्यांकन,प्रभाव र जीवन रेखा,तपाई हामीले संचालन गर्न दिइएका नेत्रित्वमा निर्भर रहन्छ। संकल्पनामा गैरआवासिय नेपाली संघ एउटा पवित्र उद्देश्य बोकेर नेपाल र गैरआवासिय नेपालीका समस्या समाधानको लागि स्थापित संस्था हो। यति हुदा हुदै पनि विभिन्न व्यक्तिहरुका स्वार्थ र अहंकारी आकांक्षाहरुको चपेटामा पर्दा यो संस्था पनि विवादित र आलोचित हुदै आइरहेको कुरा सर्वविदित नै छ। यी चुनौतीहरुका बिच पनि यस संस्थाको मातहतमा विभिन्न कालखण्डमा नेपाल र नेपालीको हितमा गरिएका मानवीय कामहरुको स्मरण गरेनौ भने त्यो न्यायोचित हुने छैन।

मातृ भूमिमा आईपरेका प्राकृतिक विपत्ति तथा माहामारीका बेलामा गरिएका सहयोग हुन् या गैरआवासि नेपाली नागरिकता तथा एन.आर.एन परिचय पत्रको लागि गरिएका पहल एबम काउन्सिलर घुम्ती सेवा, व्यक्तिगत दुर्घटना, कला तथा संस्कृतिको संरचना, स्वास्थ्य-सामाजिक-आर्थिक क्षेत्रमा जनचेतना जगाउने जस्ता सराहनीय कार्यहरु कुनैपनि व्यक्तिको व्यक्तिगत पहलमा प्राय असम्भव नै थिए। यति हुदाहुदै पनि संस्थाको पहलमा गर्नुपर्ने धेरै कामहरु जस्तो दोहोरो नागरिकताको सुनिश्चितता,पैतृक सम्पत्तिको सुरक्षा,दोहोरो कर प्रणाली,सूक्ष्म लगानी लगायत थुप्रै संस्थाको उदेस्यहरुलाई मुर्त रुप दिन अझै बाकी छ।

यसै अवस्थामा रहेको संस्थाको सकारात्मक पक्षहरुको बिश्लेषण र आवश्यकता महसूस गर्दै संस्थाका कमि कमजोरीहरु संस्था भित्रै रहेर सुधार्ने प्रण गर्दै मेरो विचार र कार्यशैलीसंग सामिप्य हुने अभियन्ताहरुसंग हातेमालो गर्दै अगाडी बढेको छु। मेरो यो शुद्धीकरणको अभियानमा म लगायत म संग जोडीएका अभियन्ताज्यूहरुलाई सहयोग गरिदिन हुन सम्पुर्ण अमेरिकीबासी नेपालीजनहरुलाई हार्दिक अनुरोध गर्दछु।’
भवदीय,
लक्ष्मण दर्लामी,बरिस्ठ प्राबिधीक विश्लेषक,व्यसायिक ऋण प्रवर्तक
उपाध्यक्ष, नेपाली ओरेगन समाज(२०२१-२०२३)
सचिव, ओरेगन च्याप्टर (२०१९-२०२१)
अध्यक्ष, ओरेगन च्याप्टर, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका (२०२१-२०२३)
उम्मेदवार, बोर्ड अफ डायरेक्टर, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका(२०२३-२५)