कोशी सरकार गठनको दाबी पेस गर्ने म्याद आज सकिँदै

काठमाडौं। कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसिमा बिहीबार सकिँदैछ। कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको छ।

विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ।

सभामुखसहित ४७ प्रदेश सांसदको समर्थनमा सरकारमा दाबी पेस गर्ने तयारी गठबन्धनले गरेको छ । तर, एमाले र राप्रपाले भने सरकार गठनको दाबी पेस गर्दा सभाभुखले हस्ताक्षर गर्न नपाउने बताईरहेका छन्।

संविधानले नै सभामुखलाई तटस्थ जिम्मेवारी दिएकोले संसदमा भएको कुनैपनि निर्वाचनमा बराबर मत भएको अवस्थामा मात्रै सभामुखले मत हाल्न पाउने उनीहरुको दाबी छ।

गठबन्धन दलका शीर्ष नेताहरूको केही दिनअघि बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा अहिले कांग्रेसको नेतृत्वमा ४६ तथा एमालेको नेतृत्वमा ४६ सांसद देखिएका छन् । माओवादीबाट निर्वाचित बाबुराम गौतम अहिले कोशी प्रदेशका सभामुख छन् ।