काठमाडौं। संघीय सरकारको गठबन्धन फुट्ने र जोडिने क्रियाकलापका कारण संघ सहित सबै प्रदेशमा एमाले प्रतिपक्ष बनेको छ ।शुक्रबार कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै सातै प्रदशेमा एमाले सत्ता बिहीन भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भएको गठबन्धनको ब्याज असुल्दै ४ वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले राष्ट्रपति निर्वाचनका लागि समीकरणमा बदलाव आएसँगै सत्ता बाहिर पुगेको हो।
संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर सबै प्रदेशमा परेको छ। एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धनमा फर्किएपछि एमालेले सबै प्रदेशबाट सत्ता गुमाएको छ।
गत पुस २४ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत नपाएपछि कोशी प्रदेशमा एमालेको सत्ता ढलेको छ।
हिक्मत कार्की ६ महिनासम्म सत्ता लम्ब्याउन सफल भएपनि नयाँ बजेट ल्याउन नपाउँदै माओवादी र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सत्ताविमुख हुनुपर्यो। २०७९ पुस १० गते बनेको गठबन्धन फागुन २५ मा भएको राष्ट्रपति चुनावसम्म एमाले चौतर्फी शक्तिकेन्द्रमा थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय मोर्चामै फर्किएसँगै संकट बढेको थियो। माओवादीले गत मंसिर ४ को चुनावअघिकै गठबन्धनमा फिर्ता हुने निर्णय गरेपछि आफ्नो भाग परेको राष्ट्रपति एमालेले गुमाएर कांग्रेसको पोल्टामा परेको थियो।
केन्द्रकै कारण एमालेले यसअघि नै लुम्बिनी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकार गुमाइसकेको छ। लुम्बिनीमा अहिले पुरानै गठबन्धनअनुसार नेपाली कांग्रेसका डिल्ली चौधरी र गण्डकीमा पनि कांग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ।
त्यस्तै, सुदूरपश्चिममा पनि एमालेका रावलको सत्ता गुमेपछि कांग्रेसका कमल शाहले अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ। यसअघि नै गत फागुन १५ गते एमाले केन्द्रीय सरकारबाट फिर्ता भएको थियो। ९ मन्त्रीसहित केन्द्रीय सरकारमा गएको एमाले दुई महिनाबीचमा संघीय संसद्को प्रतिपक्षमा पुगेको थियो।
यस्तोमा लुम्बिनीबाट लीला गिरी,गण्डकीबाट खगराज अधिकारी र सुदूरपश्चिमबाट राजेन्द्र रावलले केही महिनामै मुख्यमन्त्रीबाट हात धुनुपरेको थियो। कोशी प्रदेशको सत्ता ढलेसंगै संघीय सरकारको दोस्रो ठूलो र अधिकांश प्रदेशमा बलियो पकड भए पनि एमाले अब प्रतिपक्षी बेन्चमा पुगेको छ।