केन्यामा लरी दुर्घटनाः ४८ जनाको मृत्यु, कम्तिमा ३० जना घाइते

एजेन्सीँ। अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ। ३० जना भन्दा धेरै घाइते भएका छन्।

हिजो बेलुका सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लोन्डिआनीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका अरु धेरै गाडीसँग ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ।

लरीले पैदल यात्रु तथा ६ वटा भन्दा धेरै गाडीलाई कुल्चेको अलजजिराले जनाएको छ। ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन्।

ठक्कर दिएका बस, ट्रक, कार र मोटरसाइकलका टुक्राहरु छरीएका छन्। केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

केन्यामा ठूला सडक दुर्घटनाको दर बर्सेनि बढीरहेको छ। गएको वर्ष पनि मध्य(केन्यामा यात्रुवाहक बस पुलबाट नदीमा खस्दा ३४ जनाको ज्यान गएको थियो।