नवलपुर। लिटिल फ्लावर स्कूल सेहरिको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व बहन गर्दै शुक्रवार स्कूलले शिविर संचालन गरेको हो ।
शिविरमा डा.सन्दिप पाण्डेको नेतृत्वमा डा.सुजता गुप्ता,डा.अशेष श्रेष्ठ, बरिष्ठ स्वास्थ्यकर्मी मिरियम थापा,बरिष्ठ स्वास्थ्यकर्मी कुम नारायण महत्तो र नर्स मधु महत्तो लगायतको मेडिकल टिमले ३० जना पुरुष र ८० जना महिला गरी ११० जना विरामीको चेकजाँच गरिएको उक्त स्कूलकी नर्स मधु महत्तोले जानकारी दिनुभयो ।
शिविरमा महिलाहरुको पाठेघर र महिनावारीको समस्या, वाथ रोग, उच्चरक्तचाप, मधुमेह,पेट रोग सम्बन्धी समस्या देखिएको फिजिसियन डा. पाण्डेले बताउनु भयो। शिविरमा समस्या देखा परेका विरामीहरुलाई आवश्यक अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो ।
उक्त शिविर कार्यक्रममा गंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपाल,बुलिङटार र दर्पण हेल्थ केयर प्रा.लि. चितवनको संयोजन तथा दिव्य ज्योति सामुदायिक संघ मकावनपुरको प्राविधिक सहयोग रहेको थियो ।
लिटिल फ्लावर स्कूलले देशैभरि आफ्नो शाखा विस्तार कार्यक्रमलाई अगाडि बढाई रहेको छ। संस्थाको शाखा विस्तार कार्यक्रम अनुसार नपलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं.२ सेहरिमा यसै शैक्षिक वर्ष देखि एक कक्षा बाट पठनपाठन संचालन सुरु गरिएकोे स्कूलको भनाई रहेको छ ।




