साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै, दबाबमा नेपाल

काठमाडौं।१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दैछ। नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो।

यो खेल बैंगलोरको श्रीकांतिराव स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ। नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो। भारत साविक विजेता टोली हो।

भारतमा भैरहेको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो। भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो। समूह ‘ए’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न आज जित्नैपर्ने छ।

साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान,भुटान,पाकिस्तान र माल्दिभ्स छन्। कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा सहभागी छन्। नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल्नेछ।