इन्जिनियरिङका विद्यार्थीलाई तमोरले बगायो

काठमाडौं। धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा एक जना इन्जिनियरिङका विद्यार्थीलाई तमोर नदीले बगाएको छ ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका २३ वर्षीय सिद्धार्थकुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका–९ मा पर्ने दिलुङटारबाट तमोर नदीले बगाएको हो। सहिदभूमि गाउँपालिका–१ सफाई र साँगुरीगढी गाउँपालिकाको दिलुङटारमा तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ।

त्यही पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा शुक्रवार साँझ खत्रीलाई तमोर नदीले बगाएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो।

खत्री नदीको वारी सफाई र पारी दिलुङटारमा इन्जिनियरहरु बसेर पुल निर्माण स्थलको नापजाँच गर्दै थिए। नदी किनारको ढुंगामाथि चढेर नाप्ने क्रममा चिप्लिएर लड्दा खत्रीलाई नदीले बगाएको हो।

शुक्रवार साँझदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजी जारी राखिएको भए पनि नदीमा बाढी आएका कारण अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।