बैशाखयता बाढी पहिरोले २१ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं।गएको बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटना भएका छन्। बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको ज्यान गएको छ। २६ जना बेपत्ता छन्।

बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटना भएकोमा पहिरोका कारण १४ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन्। त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ।

बाढी पहिरोका यी घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन्। नेपालमा गएको जेठ ३१ गते भित्रिएको मनसुन अहिले देशभर फैलिएको छ। मनसुन भित्रिएको पूर्वी क्षेत्रमा भएको लगातारको वर्षाले सङ्खुवासभा,पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो क्षति गरेको छ।

मनसुनको समयमा बाढी,पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गको आग्रह छ। यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ। साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ ।

मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी अनुसार काम भैरहेको र विपद् प्रभावितलाई तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काको आग्रह छ ।